दफा ५८
पक्राउ पूर्जी जारी गर्ने कार्यविधि
(१) अदालतले यस परिच्छेद बमोजिम पक्राउ पूर्जी जारी गर्दा पक्राउ गर्नु पर्ने ब्यक्तिको पूरा नाम र ठेगाना तथा पक्राउ गर्नु पर्ने कारण स्पष्ट रुपमा उल्लेख गरी अभियुक्तको सम्बन्धमा भए अनुसूची–२३ बमोजिमको ढाँचामा र साक्षी तथा अन्य ब्यक्तिको सम्बन्धमा भए अनुसूची–२४ बमोजिमको ढाँचामा पक्राउ पूर्जी जारी गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम जारी भएको पक्राउ पूर्जीमा सम्बन्धित अधिकारीले सहीछाप गरी अदालतको छाप लगाउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम पक्राउ पूर्जी जारी गर्दा पक्राउ गर्नु पर्ने ब्यक्ति रहे बसेको वा रहन बस्न सक्ने इलाकाको प्रहरी कार्यालयको नाउँमा जारी गर्नु पर्नेछ ।
तर अदालतले आवश्यक सम्झेमा अदालतकै कर्मचारीको नाउँमा पनि पक्राउ पूर्जी जारी गर्न सक्नेछ ।
(४) यस दफा बमोजिम जारी भएको पक्राउ पूर्जी तामेल नभएसम्म वा अदालतबाट बदर नभएसम्म कायम रहनेछ ।
(५) पक्राउ पूर्जी जारी भएको ब्यक्तिलाई त्यस्ता पूर्जी बमोजिम पक्राउ गर्न सकिनेछ र त्यस बमोजिम कुनै ब्यक्तिलाई पक्राउ गर्दा निजलाई पक्राउ पूर्जी देखाई दफा ५७ को उपदफा (७) बमोजिम पठाएको सूचना समेत निजलाई दिनु पर्नेछ ।
(६) पक्राउ पूर्जी बमोजिम पक्राउ गरिएको ब्यक्तिलाई बाटोको म्याद बाहेक चौबीस घण्टामा नबढाई यथासम्भव चाँडो सम्बन्धित अदालतमा उपस्थित गराउनु पर्नेछ ।
(७) प्रहरीले पक्राउ पूर्जी प्राप्त गरेको मितिले सात दिनभित्र पक्राउ गर्नु पर्ने ब्यक्ति फेला परेन भने सम्बन्धित प्रहरी कार्यालयले निजको खोजी गर्दै रही त्यसपछि त्यस्तो ब्यक्ति रहे बसेको घर ठेगानामा गई निजको नाउँमा जारी भएको अनुसूची–२५ बमोजिमको ढाँचामा पैँतीस दिने पक्राउ पूर्जी निजको एकाघरका उमेर पुगेका ब्यक्तिलाई बुझाई सोको भरपार्ई मिसील सामेल राख्नु पर्नेछ ।
(८) उपदफा (७) बमोजिमका ब्यक्तिले त्यस्तो पूर्जी बुझी नलिए वा फेला नपरे स्थानीय तहको सम्बन्धित वडा समितिका सदस्य उपलब्ध भए निज र निज पनि उपलब्ध नभए कम्तीमा दुई जना स्थानीय व्यक्तिलाई साक्षी राखी निजको घर दैलोमा टाँसी एक प्रति पूर्र्जी अदालतमा ल्याई बुझाउनु पर्नेछ ।
(९) उपदफा (८) बमोजिम सम्बन्धित ब्यक्ति रहे बसेको घरमा सूचना टाँस गरेको पूर्जीको एक प्रति स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा समेत बुझाई त्यसको भरपार्ई मिसिल सामेल राख्नु पर्नेछ ।
(१०) उपदफा (९) बमोजिम पूर्जी बुझाएकोमा स्थानीय तहको सम्बन्धित वडा कार्यालयले त्यस्तो पूर्जी प्राप्त भएपछि सम्बन्धित ब्यक्तिलाई त्यसको जानकारी गराई आफ्नो सूचना पाटीमा समेत टाँस गर्नु पर्नेछ ।
(११) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पक्राउ पुर्जी जारी गरिएको ब्यक्ति पक्राउ पर्नुभन्दा अगावै आपैmँ अदालतमा उपस्थित भएमा निजलाई पक्राउ गरी थुनामा राख्नु पर्ने वा नपर्ने सम्बन्धमा कानून बमोजिम सुनुवाई गर्नु पर्नेछ र निजको नाममा पहिले जारी भएको पक्राउ पुर्जी बदर गरी सम्बन्धित अधिकारीलाई त्यसको जानकारी दिनु पर्नेछ ।
(१२) पक्राउ पूर्जी जारी भएको ब्यक्ति निजको ठेगाना बाहेक अन्य कुनै जिल्लामा गई बसेको छ भन्ने पक्षको निवेदन वा अन्य कुनै माध्यमबाट अदालतलाई जानकारी भएमा अदालतले निज रहे बसेको जिल्लामा पनि पक्राउ पूर्जी पठाउन सक्नेछ ।
(१३) यस परिच्छेद बमोजिम जारी भएको पक्राउ पूर्जीको म्यादभित्र अभियुक्त हाजिर नभई फरार रहेमा वा अभियुक्तको यकिन बतन खुल्न नसकेमा वा अभियुक्त रहे बसेको ठाउँ पत्ता नलागेमा अदालतले त्यस्तो अभियुक्तको हुलिया दिई नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रियस्तरको दैनिक समाचारपत्रमा सूचना प्रकाशित गरी सम्बन्धित अदालतको सूचना पाटीमा टाँस्न सक्नेछ ।
(१४) उपदफा (१३) बमोजिम सूचना प्रकाशित भएपछि अभियुक्तले रीतपूर्वक सूचना पाएको मानिनेछ र निजलाई जुनसुकै प्रहरी कार्यालय वा कर्मचारीले जुनसुकै बखत पक्राउ गरी दाखेल गर्न सक्नेछ ।
(१५) उपदफा (८) बमोजिम सूचना टाँसिएपछि वा उपदफा (१३) बमोजिम सूचना प्रकाशन भएपछि जुनसुकै बखत अदालतले पक्राउ पूर्जी बमोजिम पक्राउ गर्नु पर्ने ब्यक्तिको हकको सम्पत्ति रोक्का गर्न आदेश दिन सक्नेछ ।
(१६) उपदफा (१५) बमोजिम सम्पत्ति रोक्का गर्ने आदेश भएकोमा त्यसको जानकारी सम्बन्धित मालपोत कार्यालय वा अन्य निकाय वा संस्थालाई दिई त्यसको सूचना अदालतको सूचना पाटीमा टाँस्नु पर्नेछ ।
(१७) उपदफा (१६) बमोजिम सम्पत्ति रोक्का राख्न अदालतबाट लेखी आएकोमा सम्बन्धित मालपोत कार्यालय वा निकाय वा संस्थाले त्यस्तो सम्पत्ति तुरुन्त रोक्का राखी त्यसको जानकारी रोक्का राख्ने अदालतलाई दिनु पर्नेछ ।
(१८) अदालतबाट उपदफा (१५) बमोजिम सम्पत्ति रोक्का राख्ने आदेश भएकोमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो सम्पत्ति त्यस्तो आदेश भएको मितिबाट नै रोक्का भएको मानिनेछ ।
(१९) यस परिच्छेद बमोजिम पक्राउ गर्नु पर्ने ब्यक्ति अदालतमा उपस्थित भएपछि मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए तापनि अदालतले सम्बन्धित मालपोत कार्यालय वा अन्य निकाय वा संस्थालाई यस दफा बमोजिम रोक्का राखेको त्यस्तो ब्यक्तिको सम्पत्ति तुरुन्त फुकुवा गर्ने आदेश दिनु पर्नेछ ।